नवराज पन्थी (कुवेत )
नयाँ नेपालमा हाम्रो नेताजीहरुले मन्च पाउन साथ आवेशमा आईहाल्छन, भिड देखेपछी त रगत तताई हाल्छन । अनी दाँया-बाँया सोंच्दैन भाषण गर्न थालिहाल्छन् । यो कुनै अनौठो कुरो होइन तर बोल्छन एकतिर काम गर्छन् अर्कोतिर । यसो गर्दा देशको स्थिती कहाँ पुग्दैछ सत्ताको लुछातानाले पत्तै पाएका छैनन । शान्ति सुरक्षा, बिकाश निर्माण र नेपाली जनताको भलो हुने काम गर्ने र सोंच्ने फुर्सद नै नभएपनी तलब र भत्ता पाकिरहेको छ काम किन गर्नु पर्यो । आरोप र प्रत्यारोप मात्र चल्छ राष्ट्रपती देखी मन्त्रि सम्मका बोलिमा ।
राष्ट्रपती डा. रामवरण यादव भन्नुहुन्छ, सेनापतीको कारबाही फिर्ता लिएर देशलाई गृह युद्दबाट जोगाएको । हिमाल, पहाड, तराई, मधेस कोही छैन हाम्रो आपसी एकता, सदभाव र सहमतिले नै नयाँ नेपाल बनाउन सकिन्छ । उता उपराष्ट्रपती प्रमानन्द झा आफुलाई निष्कृय बनाएर पुरा मधेशलाई सरकारले अन्याय गरेको भन्दै हुनुहुन्छ । प्रधानमन्त्री माधव कुमार नेपाल माओवादीले देशलाई अराजकता र मुठभिडको राजनीतितिर धकेलेको, आफु कसैको रिमोट कण्ट्रोलबाट नचलेको साथै “संसदबाट निर्वाचित भई पुष्पकमल दाहाल प्रधानमन्त्री बन्दा कठपुतली नहुने र त्यही संसदबाट म निर्वाचित हुँदा कठपुतली हुने” भन्नुहुन्छ ।
उपप्रधानमन्त्री बिजय कुमार गच्छदारले त प्रधानमन्त्री नबसेको संयन्त्रको कुनै औचित्य हुँदैन रे । मधेशी जनताको भलाइको लागि फोरम फुटाएको रे । उता बेला बेलामा चर्चामा आउने अर्की उपप्रधानमन्त्री सुजाता कोइराला संघियतामा देशलाई लानु अघि जनमत संग्रह गर्नुपर्छ भन्दै हुनुहुन्छ, किन हो कुन्नी चर्चामा आउने मेसो त होलानी, वहाँको । भएन फेरी उनै सुजाताले सरकार परिवर्तन गर्ने कुरा पनि अघी सारेर नेपाली राजनैतीक चर्चामा आएकि छिन् भनें मधेशी मन्त्रीलाई हेपेको, थोत्रो गाडी पठाएको, शान्ति सुरक्षा दिन नसकेकोले नै सिडिओलाई थप्पड हानेकी हुँ भन्दै हुनुहुन्छ, मन्त्री करीना बेगम । मन्त्री बिद्या भण्डारीले कुनै पनि हालतमा माओवादी सेनालाई नेपाली सेनामा समायोजन गर्न हुँदैन भनेर कुर्लिदै छिन् ।
राजनैतिक खेलाडी गिरिजा प्रसाद कोईराला संयन्त्र बनाउँदै छन्, प्रचण्ड र झलनाथ पछि लाग्दैछन् आखिर के को लागि ? संयन्त्र बन्दैछ कतै सरकार बनाउने र गिराउने खेलको लागि त होइन ? गिरिजाले गरेको त आम नेपाली जनताले धेरै वर्ष हेरिसके अब छोरीको लागि नै मरिहत्य गर्दैछन् । प्रचण्ड कुर्लिए नेपाललाई स्विजरल्याण्ड बनाउँछु, चमत्कार गर्छु भनेर आखिर जुन जोगि आए पनि कानै चिरेको । दण्डहिनताको अन्त्य गर्छु, शान्ति सुरक्षा कायम गर्छु भनि माधव नेपाल तम्सिए तर न सिडिओ कुट्ने मन्त्रिलाइ कारवाही गर्न सके न त प्रहरीमा आफ्नै समकक्षीहरुबाट बलत्कारमा परेकी महिला प्रहरी सुन्तली धामीलाई नै न्याय दिलाउन सके, न त आफ्नै पार्टीकी मन्त्री बिद्या भण्डारीको बोलि नै बन्द गर्न सके । दरबारमा बिन्ती चढाउँदा समेत नपाएको प्रधानमन्त्री पद नेपाली राजनीतिकका माहिर खेलाडी गिरिजाको आशिर्वादले दुई दुई ठाउँबाट चुनाव हारे पनि प्रधानमन्त्री बन्न पाएका माधव कुमार नेपाललाई कुर्ची जोगाउन हम्मे-हम्मे परी रहेकोछ । माओवादी बिरोध, आरोप र प्रत्यारोप झेल्दै आएका प्रधानमन्त्रीले मन्त्री मन्डलमा हरुवाहरुलाई मन्त्री बनाएर सिङो राजनीतिमा आलोचनाको पात्र बन्नु पर्यो । त्यस माथि ४४ जना जम्बो मन्त्री मन्डल गठन गरेपछी त झन सत्ता टिकाउनको खातिर जसलाई पायो उसैलाई मन्त्री बनाएको पिडा पनि प्रधानमन्त्रीलाई झेल्नु परेकोछ ।
दण्डहिनता अन्त्य र हत्या हिंसा बन्द गर्छु भनेर कुर्लिए पनि प्रधानमन्त्रीको आदेश उनैका जम्बो मन्त्री टोलिका सदस्यले मानेका छैनन शायद त्यसैको प्रतिफल रक्षामन्त्री बिद्या भण्डारीले सेना समायोजन सम्बन्धी विवादित कुरा राख्दै हिंडि रहेकी छिन् । गृहमन्त्री नातावाद र कृपावाद पछी लागेर अपराधीहरुलाई कारवाही गर्न अनकनाई रहेका छन । आफ्नै पार्टीका मन्त्रीलाई मुख बन्द गर्न नसकेकाले अन्य पार्टीबाट मन्त्री भएकालाई कसरी सक्थे र प्रधानमन्त्रीले, जसको फलस्वरुप मन्त्री करीना बेगमले सिडिओ कुटिन, कलावती पासवानले यलडिओलाई बजाईन । नेपालको राजनीतिमा चर्चामा आइरहने उपप्रधानमन्त्री सुजता कोइरालाले एमालेले सत्ता कब्जा गर्न खोज्यो यो सरकार परिवर्तन गर्ने समय भएको छ भनी दिएको अभिव्यक्तिले अर्को समस्या सृजना भएको छ ।
गल्ती गर्नेलाई कारवाही गर्ने परिपाटी नबसालेको नतिजाले नै एक-एक गर्दै गल्ती गर्नेहरुको साहश मौलाउँदै गएको छ । राज्यमन्त्रीहरु पनि आफुहरुले काम गर्न नपाएको नाम मात्रको मन्त्री भनी पदबाट निलम्बन गर्न आग्रह गरिरहेका छन । कतीपय मन्त्रालयमा त मन्त्री र राज्यमन्त्रीहरुको बोलचाल सेमत छैन । कहिल्यै मन्त्रालयमा मन्त्री र सचिवको कुरा मिल्न सकी रहेको छैन यसले प्रधानमन्त्री माधव कुमार नेपाललाई अप्ठ्यारोमा पारी रहेको छ । नयाँ नेपालमा जसले जे बोले पनि हुने, जसले जे गरे पनि हुने प्रविर्तिको बिकास भई रहेको छ । यस्तो परिपाटीको अन्त्य नहुँदासम्म जती नै सरकार परिवर्तन भए पनि, जो सुकै मन्त्री बने पनि, जसले प्रधानमन्त्री बनी सरकारको नेत्रित्व गरे पनि केही हुने वाला छैन ।
Filed under: Uncategorized | Leave a Comment »




